Wednesday, June 3News That Matters

व्यापारीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा ४ पक्राउ

पूर्णपुष्टि,वैशाख ३

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित रहेको एक पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छन् । राजु हार्डवेयर पसलमा लुटपाट गरेको आरोपमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् ।

रक्सी खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्लाबाट रु तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।