
पूर्णपुष्टि, माघ ८
केहि समय अघि मिक्लाजुङ गाउँपालिका मोरङका एक शिक्षकको हत्या गरेको आरोपमा विप्लव समूह मोरङका इन्चार्ज पक्राउ परेका छन् । चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
मोरङ स्थित मिक्लाजुङ गाउँपाकिा बर्खेका ४५ बर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गत मंसिर २३ गते विहान भएको थियो । हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानले खुलाएको छ ।
प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए । मोरङका दुईसहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ । विक चन्दा संकलन गर्न आएको बेला पक्राउ परेका प्रहरीले जनाएको छ ।
श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । मोरङ बुढीगंगा गाउँपालिका चारस्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
विकको साथबाट अटोमेटिक पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद भएको छ ।
त्यस्तै चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि भेटिएको फेला परेको छ । तीनवटा मोबाइलमा प्रयोग भएको अवस्थामा ६ वटा सिम र पर्समा बोकेको अवस्थामा पाँचवटा सिम बरामद भएको खड्काले बताए । प्रहरीले विक सवारको २४ प ४००५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
