Saturday, June 13News That Matters

शिक्षक हत्या अभियोगमा २२ वर्षीया युवती पक्राउ

पूर्णपुष्टि, असोज १० गते ।
ओखलढुंगामा शिक्षक हत्या गरेको अभियोगमा २२ वर्षीया एक जना युवती पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी छलमाया धमलालाई पक्राउ गरेको हो ।
उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ । ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको हो । घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए ।
ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपीट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले समेत घटना आफैँले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । घटनाबारे प्रहरीले भने प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै यसबारे थप बताएको छैन । तर तारन्तारको ब्याकमेलिङ सहन नसकेर हत्या गरेको आरोपित युवतीको स्वीकारोक्ति छ ।