Friday, August 7News That Matters

शीतगंगामा जमिन भासिँदा ३ सय घर जोखिममा

पूर्णपुष्टि, असोज १३ 

अर्घाखाँचीको शितगंगामा जमिन भासिँदा तीन सय घर जोखिममा परेको छ । शितगंगा नगरपालिकाका–११ को ढुंगेशेरा र १२ नम्बर वडाको कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेको हो ।
जनप्रतिनिधि र  सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले २ वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेको जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको छ ।

बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए ।

भिरालो पाखोको वस्तीमा जमिन भासिँदा कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा परेको जनाईएको छ । त्यस्तै  ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको जोखिममा परेको जनाईएको छ ।
घर, गोठ भत्किएर अन्नपात, पशु चौपायासहित ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ । क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समितिसमेत बनाइएको पालिकाले जनाएको छ ।

घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी गर्न नगर प्रमुख अधिकारीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ । उक्त स्थानमा तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो । स्थानीयले धाँजा पुर्दै खेती गर्दै आएका थिए ।