
पूर्णपुष्टि, माघ १५ गते । भोजपुरको अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमती ४१ बर्षीया गंगा श्रेष्ठको हत्या गरेका छन् ।
शनिवार अपरान्ह ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबादहुँदा श्रिमतीको हत्या गरेको प्रहरीले जनाएको छ । रिशको आवेगमा श्रेष्ठले श्रीमतीको घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको खबर पाएपछी प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेका थिए । हत्या गरेपछी घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
