
पूर्णपुष्टि, कात्तिक २४
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले आज परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।
मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र सरकारले नामबारे मात्र निर्णय गरेको उनको स्पष्टीकरण थियो ।
समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
समितिको निर्णयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बिजय सुब्बा र नबराज सिलवालले भने फरक मत राखेका छन् ।
