
पूर्णपुष्टि, साउन ३० । प्रतिनिधिसभाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ लाई आजै पारित गर्ने सदनको तयारी रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसअघि मन्त्री चौरसियाले नै कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गर्न प्रस्ताव राख्नेछन्।
यसअघि मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन्। प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका लागि पठाएको थियो।
विधेयक यही साउन २४ गते समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो। समितिमा सहमति हुन नसकेका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो। आजको बैठकमा विधेयकका सम्बन्धमा प्रमुख दलका शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
