
पूर्णपुष्टि, चैत २७ गते ।
सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दाङको घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही–८ वन गाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
त्यसैगरी, घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का ८ वर्षीय योगेश बस्नेतको ज्यान गएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।
