
पूर्णपुष्टि, चैत्र १३ । सन्दीप लामिछाने विरुद्ध मुद्धाको अन्तिम सुनुवाई आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । नाबालिग बलात्कार आरोप लागेका सन्दिपविरुद्धको मुद्धाको अन्तिम सुनुवाई सोबारदेखी जिल्ला अदालत काठमाडौंमा हुने भएको छ ।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन फागुन १५ गते आदेश दिएको थियो । सोहि आदेश बमोजिम आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको जिल्ला अदालत काठमाण्डौँले जनाएको छ ।
एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दिपविरुद्ध प्रहरी वृत गौशालामा उजुरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।
वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो भने असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । उच्चले सन्दिपलाई विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने शर्त सहित पुष १८ गते २० लाख धरोटीमा छाडेको थियो ।
उच्च अदालतको आदेशविरूद्ध क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए भने महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो । दुबै निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत पाटनको आदेश सदर गर्दै १५ फागुनमा सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो । सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाउनसमेत भनेको थियो ।
