
पूर्णपुष्टि, चैत ३०
आजदेखि ‘सफा हिमाल अभियान २०२१’ सुरु हुँदैछ । नेपाली सेनाले सञ्चालन गर्ने अभियानको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरेर ६ वटा हिमाल सफाइ गर्दैछ ।
दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।
६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि सेनाले जनाएको छ ।
सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका,थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने सेनाले जनाएको छ ।
अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहने जनाइएको । हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको सेनाले जनाएको छ ।
सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो । गत वर्ष कोरोना महामारीले हिमाल सफाइको काम प्रभावित भए पनि यस वर्ष फेरि निरन्तरता दिन लागिएको सेनाले जनाएको छ ।
