Sunday, June 28News That Matters

सफ्टवेयर सोर्स कोड दुरुपयोग आरोपमा ३ पक्राउ

पूर्णपुष्टि, चैत २

नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद लिएको छ । कम्पनीका ३ जना सञ्चालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेका प्रहरीले जनाएको छ ।