
एउटा सानो सूचना, ठूलो प्रकोप रोक्ने आधार बन्न सक्छ
कुनै पनि रोगको महामारी एकै चोटी ठूलो रूपमा देखा पर्दैन । सुरुमा-सुरुमा समुदायमा साना–साना संकेतहरू देखिन सक्छन् । जस्तै : एकै ठाउँमा धेरै मानिस बिरामी पर्नु, असामान्य रूपमा ज्वरोका बिरामी बढ्नु, कुनै भोजभतेरमा सहभागी भएका धेरै व्यक्ति एकैपटक बिरामी पर्नु वा एउटै परिवार तथा टोलमा धेरै मानिसमा मिल्दोजुल्दो लक्षण देखिनु । यस्ता संकेतलाई समयमै पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउन सकियो भने सम्भावित प्रकोपलाई सुरुमै नियन्त्रण गर्न सकिन्छ ।
रोग निगरानी भनेको के हो ?
रोग निगरानी भनेको जनस्वास्थ्यमा असर पार्न सक्ने अनपेक्षित घटना, रोगका लक्षण समूह (Syndrome) तथा रोगको निरन्तर पहिचान, सूचना सङ्कलन, प्रमाणीकरण, विश्लेषण, सञ्चार र आवश्यक प्रतिकार्य गर्ने प्रक्रिया हो । यसले रोगको प्रवृत्तिबारे जानकारी दिने, सम्भावित प्रकोपको पूर्वानुमान गर्ने र नियन्त्रण-निवारणका लागि योजना बनाउन मद्दत गर्छ ।
रोग देखिएपछि मात्र उपचार गर्ने होइन, रोग वा असामान्य स्वास्थ्य घटनालाई समयमै पहिचान गर्ने, सूचना दिने, खोजी गर्ने र आवश्यक प्रतिकार्य गर्ने व्यवस्था नै प्रभावकारी रोग निगरानीको मुख्य आधार हो । समुदायमा आधारित रोग निगरानी प्रणाली (Community Based Disease Surveillance) ले यही उद्देश्यका लागि समुदायबाट आउने सूचनालाई स्वास्थ्य प्रणालीसँग जोड्ने कार्य गर्दछ ।
हाम्रो इतिहासलाई हेर्ने हो भने, विश्वभर त्रासको रुपमा फैलाएको बिफर (Smallpox) रोग पनि सन् १९६७ देखि सुरु भएको व्यापक निगरानी कार्यक्रमकै फलस्वरुप सन् १९७७ मा उन्मूलन हुन सफल भएको थियो । रोग देखिएपछि मात्र उपचार गर्नु भन्दा समयमै सूचना प्रबाह, खोजी र पहिचान गरी प्रतिकार्य मार्फत रोग नियन्त्रण गर्नु समुदायमा आधारित रोग निगरानी प्रणालीको मूल उद्देश्य हो । त्यसैले रोग नियन्त्रणमा समयमै सूचना र समयमै प्रतिकार्याको अत्यन्त ठूलो महत्व हुन्छ ।
समुदाय नै रोग निगरानीको पहिलो स्रोत
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी समुदायसम्म पुग्छ, तर समुदायले स्वास्थ्य संस्थाभन्दा पहिले धेरै कुराहरु देख्न सक्छन् । कुन टोलमा अचानक धेरै मानिसहरु बिरामी परे, कहाँ ज्वरोका बिरामी असामान्य रूपमा बढे, कुन परिवारमा उस्तै लक्षण भएका धेरै व्यक्ति देखिए वा कुनै विद्यालयमा एउटै प्रकारका लक्षणका कारण विद्यार्थीको अनुपस्थिति बढ्यो जस्ता संकेत सबैभन्दा पहिले समुदायका मानिसले नै देख्न सक्छन् ।
त्यसैले समुदायमा आधारित रोग निगरानीमा हरेक नागरिक महत्वपूर्ण साझेदार हुन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV), शिक्षक, आमा समूह, युवा क्लब, समाजसेवी, धार्मिक तथा सामाजिक अगुवा, परम्परागत उपचारमा संलग्न व्यक्ति, धामी-झांक्री, वडा तथा पालिकाका जनप्रतिनिधिहरु र आम नागरिकले समुदायमा देखिएको असामान्य स्वास्थ्य घटना तथा रोगहरुलाई बेवास्ता नगरी नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी गराउन वा निस्शुल्क हटलाइन नंबर हेलो स्वास्थ्य १११५ मा जानकारी गराउन सक्छन् । समुदायमा आधारित रोग निगरानी निर्देशिका ९२०८२० ले पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजसेवी र जनप्रतिनिधिलगायत सरोकारवालाहरुलाई समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना, लक्षण समूह (Syndrome) तथा रोगबारे अपनत्व लिई सूचना तथा पैरवी गर्ने व्यवस्था गरेको छ ।
रोगको नाम थाहा हुनैपर्छ भन्ने छैन
समुदायका मानिसले आफूले देखेको घटनालाई कुनै निश्चित रोग भनेर पहिचान वा पुष्टि गर्न आवश्यक छैन । असामान्य घटना वा रोग देखिएमा वा एउटै प्रकारका लक्षण धेरै व्यक्तिमा देखिएमा त्यसबारे सूचना दिनु नै महत्वपूर्ण हो । रोगको पुष्टि गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको हो र नागरिकको जिम्मेवारी भनेको आफूले देखेको असामान्य स्वास्थ्य अवस्था वा सम्भावित जोखिमबारे समयमै जानकारी गराउनु हो ।
कस्ता घटना तत्काल सूचित गर्ने ?
समुदायमा निम्नमध्ये कुनै घटना देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा हेल्लो स्वास्थ्य १११५ मा तुरुन्त सूचना दिनुपर्दछ :
- समुदायमा कुनै ब्यक्ति कारण नखुलेको रोगले मृत्यु हुनु।
- अनपेक्षित रूपमा धेरै चरा, कुखुरा, हाँस, कुकुर, बंगुर वा अन्य जनावर बिरामी पर्नु वा मृत्यु हुनु।
- कुनै भोजभतेरमा सहभागी धेरै व्यक्ति एकैपटक बिरामी पर्नु ।
- कारण नखुलेको वा पहिचान नभएको अवस्थाबाट समुदायमा एक्कासि धेरै व्यक्तिहरु बिरामी पर्नु वा मृत्यु हुनु ।
- विपद्का कारण धेरै व्यक्तिहरु बिरामी, घाइते वा मृत्यु हुनु ।
- जंगली च्याउ वा सागसब्जी खाएपछि धेरै व्यक्ति बिरामी पर्नु वा मृत्यु हुनु ।
- वातावरणमा हानिकारक वस्तु वा रसायनहरु मिसिएर धेरै व्यक्तिहरुको स्वास्थ्यमा असर पर्नु।
- कुकुर वा जंगली जनावरले धेरै व्यक्तिलाई टोक्नु ।
- कुखुरा, हाँस, बंगुर वा अन्य जनावरको सम्पर्कपछि ज्वरोसँगै सास फेर्न गाह्रो हुने समस्या देखिनु वा बिरामी हुनु ।
- बिरामीको स्याहार गर्ने व्यक्ति वा स्वास्थ्यकर्मी नै उही प्रकारको रोगका कारण बिरामी हुनु, अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुनु ।
- विदेश यात्राबाट फर्किएको दुई हप्ताभित्र ज्वरो वा सास फेर्न समस्या देखिनु ।
- एउटै विद्यालयका विद्यार्थीमा छोटो अवधिमा उस्तै लक्षणका कारण विद्यालयमा अनुपस्थिति असामान्य रूपमा बढ्नु ।
- जनस्वास्थ्यमा जोखिम पुर्याउन सक्ने वा समुदायमा विरलै देखिने कुनै असामान्य रोग, लक्षण वा स्वास्थ्य घटना देखिनु ।
साथै निम्न लक्षणलाई पनि बेवास्ता नगरौँ :
- बिमिरासहितको ज्वरो, अचानक मानसिक अवस्थामा परिवर्तन वा चेतना गुम्ने अवस्था, ज्वरो आउने र रगत बग्ने, बालबालिकामा एक्कासि हातखुट्टा लुलो हुने समस्या, तीव्र सास फेर्न गाह्रो हुने अवस्था, झाडापखाला तथा बान्ताजस्ता लक्षण भएका बिरामी देखिएमा पनि त्यसलाई सामान्य ठानी बेवास्ता गर्नु हुँदैन ।
- विशेषगरी घरपरिवार, विद्यालय वा टोलमा छोटो समयमै धेरै मानिसमा एकैखाले ज्वरो, खोकी, झाडापखाला वा अन्य मिल्दोजुल्दो लक्षण देखिएमा “अरूले खबर गर्लान्” भनेर पर्खनु हुँदैन ।
हेल्लो स्वास्थ्य १११५ स् सूचना दिने सजिलो माध्यम २४ सै घण्टा खुला
समुदायका जो-कोहीले आफ्नो नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई फोन गरेर वा प्रत्यक्ष भेटेर जानकारी दिन सक्छन्। वडा तथा पालिका तहका सम्बन्धित प्रतिनिधिमार्फत पनि सूचना पुर्याउन सकिन्छ ।
यसका साथै हेल्लो स्वास्थ्य १११५ मा फोन गरेर अनपेक्षित जनस्वास्थ्य घटना, रोगका लक्षण समूह वा रोगसम्बन्धी जानकारी दिन सकिन्छ। हेल्लो स्वास्थ्य १११५ स्वास्थ्य तथा खाद्य स्वच्छता मंत्रालय अंतर्गत २४सै घण्टा सातै दिन खुला रहने निस्शुल्क हटलाईन नंबर हो । समुदायमा आधारित रोग निगरानी निर्देशिकाले स्वास्थ्यकर्मी बाहेक समुदायका अन्य व्यक्तिबाट समेत हेल्लो स्वास्थ्य १११५ मा प्राप्त हुने अनपेक्षित जनस्वास्थ्य घटना वा लक्षण समूहसम्बन्धी सूचनालाई समुदायमा आधारित रोग निगरानीको महत्वपूर्ण सूचकको रूपमा समेटेको छ ।
१११५ मा सूचना दिएपछि के हुन्छ ?
१११५ मा सूचना दिएपछि नागरिकले आफैं रोगको पुष्टि गर्नुपर्दैन, प्राप्त सूचनालाई सम्बन्धित स्वास्थ्य प्रणालीमा अभिलेख तथा प्रेषण गरिन्छ र सम्बन्धित स्वास्थ्य संस्था तथा स्थानीय तहलाई जानकारी गराइन्छ ।
सम्बन्धित स्वास्थ्यकर्मीले प्राप्त घटनाको २४ घण्टाभित्र प्रमाणीकरण गरी वास्तविक घटना भएमा क्इच्ःब्क् नामक स्वास्थ्य घटना निगरानी प्रणालीमा अद्यावधिक गर्ने र प्रारम्भिक जोखिम मूल्याङ्कन गर्ने व्यवस्था छ। जोखिम मूल्याङ्कन पश्चात जोखिमको स्तरअनुसार स्थानीय तह, जिल्लारप्रदेश तथा आवश्यकताअनुसार तीनै तहका द्रुत प्रतिकार्य टोलीबाट आवश्यक प्रतिकार्य गर्न सकिने व्यवस्था रहेको छ। यसको अर्थ, तपाईंले दिएको एउटा सूचना स्वास्थ्य प्रणालीभित्र आवश्यक ठाउँसम्म पुगेर जोखिम पहिचान र प्रतिकार्यको आधार बन्न सक्छ ।
सूचना दिनु डर फैलाउनु होइन, नागरिकको जिम्मेवारी पूरा गर्नु होस्
कहिलेकाहीँ मानिसले “रोगको नाम थाहा छैन”, “सानो कुरा होला”, “झुटो सूचना भयो भने के होलारु” वा “अरू कसैले खबर गरिहाल्छ” भनेर सूचना दिन ढिला गर्छन् । यही ढिलाइ कहिलेकहीँ सम्भावित प्रकोप नियन्त्रणमा ठूलो चुनौती बन्न सक्छ। त्यसैले शंका लागेमा सूचना दिनुहोस्। सूचना दिनु र रोगको पुष्टि गर्नु फरक कुरा हो । नागरिकले सही सूचना दिने होस स्वास्थ्यकर्मीले त्यसको प्रमाणीकरण, जोखिम मूल्याङ्कन र आवश्यक प्रतिकार्य गर्ने हो। तर कसैलाई दुस्ख दिने नियतले झुटा सूचना भने हुँदैन ।
नेपालको जनस्वास्थ्य सेवा ऐन, २०७५ ले कुनै स्थानमा उच्च जोखिमयुक्त संक्रामक रोग देखिएमा त्यसको जानकारी स्वास्थ्य संस्था वा जनस्वास्थ्य अधिकारीलाई दिनु सम्बन्धित व्यक्तिको दायित्व हुनेछ भनी ब्यवस्था गरेको छ ।
समयमै सूचना दिँदा के फाइदा हुन्छर ?
समयमै सूचना प्राप्त हुँदा:
- प्रभावित बिरामीको समयमै पहिचान तथा उपचार गर्न सकिन्छ।
- संक्रामक रोग अरू व्यक्तिमा फैलिनबाट रोक्न सकिन्छ।
- सम्भावित प्रकोप वा महामारीलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ।
- आवश्यक अनुसन्धान, जोखिम मूल्याङ्कन तथा प्रतिकार्य छिटो सुरु गर्न सकिन्छ।
- तत्काल हुने मृत्यु तथा दीर्घकालीन स्वास्थ्य क्षति कम गर्न सकिन्छ।
स्वास्थ्य कार्यालय, उदयपुरको आग्रह:
स्वास्थ्य कार्यालय, उदयपुर जिल्लाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, वडा तथा पालिकाका जनप्रतिनिधिहरु, सामाजिक अगुवा, सञ्चारकर्मी तथा आम नागरिकसमक्ष अनुरोध गर्दछ:
- समुदायमा आधारित रोग निगरानी सरकार वा स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी होइन। यो समुदाय र स्वास्थ्य प्रणालीबीचको साझा जिम्मेवारी हो।
- समुदायमा देखिने कुनै पनि असामान्य स्वास्थ्य घटना, रोग वा लक्षणलाई बेवास्ता नगरौँ। रोगको नाम थाहा नभए पनि, कुनै रोग वा स्वास्थ्य घटना देखिएमा समयमै सूचना दिऔँ।
- नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई खबर गरौँ अथवा हेल्लो स्वास्थ्य १११५ मा जानकारी गराऔँ।
“आज तपाईंले दिएको एउटा सानो सही सूचना, भोलि धेरै मानिसहरुलाई बिरामी हुनबाट बचाउने आधार बन्न सक्छ।”
‘रोग निगरानीमा सबैको सहभागिता, समुदायको सुरक्षा, सबैको साझा जिम्मेवारी’
-लौकजी राई
प्रयोगशाला अधिकृत – स्वास्थ्य कार्यालय उदयपुर
