
पूर्णपुष्टि,फागुन २०
गुल्मीमा २१ वर्षीया युवतीको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलार्ई प्रहरीले सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आज सार्वजनिक गरेको हो ।
लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले खुलाएको छैन ।
सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो ।
खत्रीले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खत्रीले बेपत्ता भएकी सम्झनाको खोज तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए ।
पछि उनैले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापमा लालबहादुरमाथि गरिएको अनुसन्धानबाट हत्या उनले नै गरेको निष्कर्षमा पुगेको प्रहरीले जनाएकोे छ ।
अभियुक्त खत्रीलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
