
पूर्णपुष्टि, जेठ २१ गते ।
आगामी जेठ २५ गते भित्र कर तिर्न सरकारले म्याद तोकेकोमा नेपाल चेम्बर अफ् कमर्सले आपत्ति जनाएको छ ।
कोरोना भाइरसको प्रकोपको कारण ७१ दिनदेखि देश लकडाउनमा रहेकोले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प रहेकोे अवस्थामा सरकारले जेठ २५ गतेभित्र कर बुझाउन म्याद तोकेकोमा ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।
तरलताको अभावले कर्मचारी र मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको ब्याज, किस्ता तथा अन्य विविध खर्चहरुसमेत धान्न नसकेको पनि चेम्बरले जनाएको छ । चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिको साथ लकडाउनको अवधिमा अविलम्ब आर्थिक क्रियाकलाप चलायमान बनाउन व्यवसायिक वातावरण सिर्जना गर्न पनि अनुरोध गरेको छ ।
विद्यमान सूचना खारेज गरी व्यवसायीको माग अनुसार नयाँ सूचना जारी गर्न चेम्बरको अनुरोध छ ।
