
पूर्णपुष्टि, जेठ २१ गते ।
अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि ठूलो वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवातको प्रभाव आज दिउँसोबाटै नेपालमा देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने जनाएको छ ।
आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको जनाएको छ ।
भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेको विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।
