Saturday, June 27News That Matters

सरकारद्धारा सलह नियन्त्रणको प्रयास

पूर्णपुष्टि, असार १४

भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ । सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएको मन्त्रालयले जनाएको छ ।

प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आफ्नो ठाउँमा सलह देखिएकामा नजिकको कृषि प्राविधिकलाई खबर गर्न आग्रह गरेको छ ।

धानको बीउलाई जालीले छोपेर जोगाउन सकिन्छ । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएपछि प्रदेशका कृषि वैज्ञानिकहरूले पनि अध्ययन सुरु गरेका छन् ।

प्रदेश २ का प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन सुरु गरेको जनाईएको छ ।

सलह सानो समूहमा मात्रै नेपाल छिरेकाले यसको प्रकोप फैलिने सम्भावना कम रहेको विज्ञहरुको अनुमान छ । सलह एकै ठाउँमा नबस्ने भएकाले यसबाट क्षति हुने सम्भावना निकै कम रहेको, तर सतर्क भने हुनुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ ।

हिजो बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देही, पाल्पा, कपिलवस्तु लगायत जिल्लामा फैलिएको छ ।