
पूर्णपुष्टि, बैशाख १४ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग सहित माइतीघरमा धर्ना दिने भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आज एक भिडियो सार्वजनिक गर्दै भोली शुक्रबार बिहान १० बजेबाट धर्ना दिने जानकारी गराएका छन् ।
उनले ४ बुँदे माग राख्दै माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने बताएका हुन् । उनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउने गरी जनआन्दोलन गर्न सबैलाई आग्रह गरेका छन् ।
२००७ सालको क्रान्तिपछि नेपालमा धेरै पटक धेरै किसिमको राजनिति परिवर्तन भएको बताएका छन् । विगत ७२ बर्षको इतिहासमा सर्वसाधारण नेपालीहरु प्रधानमन्त्री बने र बिभिन्न किसिमको सरकार निर्माण भएको छ । ति सरकारहरुले भौतिक पूर्वाधारमा रहेका धेरै किसिमको विकास निर्माणका कामहरु गरेता पनि अर्थतन्त्रको बिकास गरेनन् ‘उनले भने’ नेपालमा रोजगारीको सिर्जना गरिएन ।
पुनले भनेका छन्–अहिले सम्मको सरकारले नेपाली प्रतिभा सन्ततीहरुलाई आविष्कार, नबप्रबर्तन, आविष्कार गर्न प्रोत्साहन गरेर उनिहरुलाई उद्धमी बनाउने र देशको अर्थतन्त्र सुधार साथै रोजगार सिर्जना गर्नको लागी चाहिने अतिआवश्यक काम गरेन भनेपनि हुन्छ तर त्यसका लागी सरकारले बजेट नै नछुट्याएको उनको आरोप छ । आवश्यक ऐन कानुन बनाएन र प्रोत्साहन गर्ने कुनै कदम नचालेको समेत उनको गुनासो छ ।
फल स्वरुप देशका अधिकांश प्रतिभाशाली, सिर्जनशिल र नबिनतम सोच भएका युवाहरु बाध्यभएर बिदेश पलायन भईरहने क्रम जारी रहेको छ । त्यसैले देशको प्रतिभाशाली सन्ततीहरुलाई देशमानै राखेर उनिहरुलाई उद्यमी बनाउने, अनुसन्धान गराउने, देशमा रोजगारीको सिर्जना गराउने र देशको अर्थतन्त्र बढाउने काम बाध्य भएर हामिले गर्नुपरेकोले यो विशुद्ध सामाजिक जनआन्दोलन सुरु गरिएको हो उनले भने ।
उनको चारबुँदे माग यस प्रकार रहेको छ ।
१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।
२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।
३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।
४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।
