
वीरसबाबु शाही, पूर्णपुष्टि
१८ कार्तिक २०८३, उदयपुर । त्रियुगा नगरपालिकाको पहिलो संस्थागत बालमैत्री विद्यालयका रूपमा देउरीस्थित सरस्वती बोर्डिङ स्कुल घोषणा भएको छ ।
बुधबार आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले विद्यालयलाई नगरपालिकाको पहिलो संस्थागत बालमैत्री विद्यालय बन्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले बालमैत्री विद्यालय निर्माणका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने भन्दै विद्यालयको पठन संस्कृति, शिक्षण विधि र समग्र वातावरणसमेत बालमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्का,वडा सचिव रोशन थापा, विद्यालयका प्रधानाध्यापक सुरेश थापा, अभिभावक, बाल सञ्जालका प्रतिनिधि तथा बालमैत्री वडा फोकल पर्सनलगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाको अधिकार संरक्षण, सहभागिता, सिकाइ र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विद्यालयलाई बालमैत्री घोषणा गरिएको हो । सामुदायिक तर्फको बालमैत्री बिद्यालय त्रियुगा नगरपालिका ५ श्रीपुर स्थित श्री जनता माद्यामिक बिद्यालय घोषणा गरिएको छ ।
