
पूर्णपुष्टि, असोज ३०
सर्पको टोकाईबाट भाईरल झाँक्रीको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट ज्यान गएको हो । भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेकोे थियो ।
जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको ज्यान गएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो । त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकीको भनाई रहेको प्रहरीले जनाएको छ । छिमेकीका अनुसार धामीको भर पर्दा अस्पताल लैजान ढिलाई भएको र दशैंको टीकाको दिन भएकाले एम्बुलेन्स समयमा नपाएका कारण घतानीको ज्यान गएको हो ।

