
पूर्णपुष्टि, माघ ४
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । मोटरसाईकल चालक धरान–१० का ३० बर्षीय बिक्रम चेम्जोङको मृत्यु भएको हो ।
धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२–०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा याख्खा घाईते भएको थियो ।
याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।
दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
