
पूर्णपुष्टि, बैशाख ९ । मोरङमा सहकारी संस्था फोडी नगद लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० बर्षीय दिलिप कुमार चौधरी, २८ बर्षीय ईरज धामी, सर्लाही लालबन्दी–२ का ३५ बर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर–५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन ।
उनिहरुले मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गत चैत्र २ गते राती बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैया चोरी गरेका थिए ।
रकम चोरी भएको जानकारी प्राप्त भए संगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलास सुरु गरिएको थियो । चोरी तथा डाका गरी फरार रहेका ४ जनालाई सर्लाहीको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको छ भने मिथिलेस महतोलाई २ लाख रुपैया धरौटीमा छाडेको छ । घटना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
