Sunday, May 3News That Matters

साउने सोमबारमा महादेव गुफामा भक्तजनको घुइँचो

पूर्णपुष्टि, साउन १४ । उदयपुरको कटारी नगरपालिकामा अवस्थित ताराघारी स्थित महादेव गुफामा आज साउनको दोस्रो सोमबार विशेष धार्मिक महत्वका साथ मनाइँदैछ। बिहानैदेखि स्थानीय तथा छिमेकी जिल्लाका भक्तजनहरू पूजा–आराधनाका लागि गुफामा पुगिरहेका छन्।

गुफा व्यवस्थापन समितिका अनुसार प्रत्येक साउने सोमबार यहाँ दर्शनार्थीहरूको विशेष भीड लाग्ने गर्दछ। शिवपुराणमा उल्लेख भए अनुसार यस दिनको पूजा र व्रतले सबै प्रकारका समस्याहरू हट्ने र परिवारमा सुख–शान्ति छाउने विश्वास गरिन्छ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारका अनुसार साउन महिनामा शिव पृथ्वीमा आउने पौराणिक मान्यताका कारण यस समयमा विशेष पूजा गरिन्छ। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने र दुर्घटना तथा अकाल मृत्युबाट बच्न सकिने जनविश्वास रहेको छ। कटारी र आसपासका क्षेत्रबाट विभिन्न सवारी साधनमार्फत भक्तजनहरू गुफामा पुगिरहेका छन्। यसका साथै, गुफाको सुन्दर वातावरण र संरचनाका कारण यो स्थान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ, जसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ। साउने सोमबारको धार्मिक महत्व र महादेव गुफाको बढ्दो लोकप्रियताले स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ ।