
पूर्णपुष्टि, असोज ३०
सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलमा साढे २ दशकपछि हवाई उडान सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर २५ वर्षपछि आजदेखि हवाई उडान सुरु भएको हो ।
विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलले जनाएको छ । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ ।
पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट सात यात्रु लिएर समिट एअर धनगढी फर्केको जनाएको छ । पहिलो दिन आज हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरले जनाएको छ ।
नगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने छ । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ ।
लामो समयसम्म बन्द रहेको विमानस्थलमा पुनःनियमित उडान सुरु भएपछि यस क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने छ ।

