
पूर्णपुष्टि, असोज ३०
आजदेखि लमजुङ र गोरखाका गुरुङ समुदायमा दशैँ सुरु भएको छ । नेपाल एकीकरण अघि लमजुङ राज्य र गोरखा राज्यले समेटेको भूभागका गुरूङ समुदायमा दसैं सुरु भएको हो ।
अन्य समूदायले भोली अर्थात घटस्थापना र जमरा राख्ने तिथि तय गरेको भएपनि गण्डकी प्रदेशका गुरुङ समुदायले मौल पूजाको लागि आजै जमरा राख्ने चलन रहेको छ ।
विशेषगरी लमजुङ र गोरखा क्षेत्रका गुरुङ समुदायले घटस्थापनाको अघिल्लो दिन अर्थात् औंसीकै साँझ खाना खानुअघि मौला पूजाको लागि जमरा राखेर दशैंको सुरुवात गर्ने गर्छन् ।
कास्कीको याङ्जाकोट लगायतका केही क्षेत्रमा भने औंसीको दिन बिहानै नागरा पूजा गरेर दशैंको औपचारिक सुरुवात गर्ने चलन छ । तर सबै क्षेत्रमा नागरा पूजा भने गर्ने चलन छैन ।
नागरा पूजा हुने क्षेत्रमा आज बिहान कोटघरमा गएर नगरा पूजा हुन्छ । खाना आएपछि माथि कोटमा गएर नगरा बजाउँछन् । त्यसपछि साँझ खाना खानुअघि नौवटा बोहोतामा नवदूर्गाको प्रतीक जमरा राख्ने गरिन्छ । नवमीको दिन घरमाथिको कोटमा गरिने पूजामा सोही जमराको प्रयोग गर्ने गरिन्छ । तर दशमीको दिन मान्छेले लगाउने जमरा भने घटस्थापनाकै दिन राख्ने गरिन्छ ।

