
पूर्णपुष्टि, असोज ३०
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।
हिजो मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो ।
मन्त्रालयको प्रस्तावमा सीसीएमसीले कुनै निर्णय गरेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रालयमा सो प्रस्ताव पठाउनु पर्नेमा सीसीएमसीले निर्णय नै गरेको छैन ।
गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको छ ।

