
मिलन परियार
बैशाख २४ गते ।
रौतामाई गाउँपालिका–४ को साढे दुई हजार रोपनीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप फैलिएपछि कृषक चिन्तित बनेका छन् ।
अमेरिकन फौजि किराले वडाको पोखरी, सल्ले, भदौरे, मालबासे, गोठडाँडा, नचने, सर्के र रसुवा गाउँ बस्तिको दुई हजार तीन सय ७५ रोपनी क्षेत्रफलमा लगाएको मकै बालि नष्ट गरेको हो । भर्खर छरेको मकै किराले खाएर नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रकुमार मगरले बताए ।
मुख्य बालिको रुपमा रहेको मकैको विरुवा नै किराले खाएर नष्ट गर्न थालेपछि किराको प्रकोप नियन्त्रण गर्नका लागी गाउँपालिका, गाउँपालिकाको कृषशी शाखा र कृषी ज्ञान केन्द्रलाई जानकारी गराई सकेको वडाध्यक्ष मगरले बताए ।
पालिकाको २, ३, ४, ५, ६, ७ र ८ वटा वडाहरुमा लगाएको मकै बालिमा किराको प्रकोप फैलिन थालेपछि उक्त क्षेत्रको तथ्याङ्क सकलन गरी आवश्यक विषादी गरी कृषकलाई वितरण गर्ने आईतबार बसेको गाउँ कार्यपालिकाको बैठक निर्णय गरेको पालिकाले जनाएको छ ।
रौतामाई, लिम्चुङ्बुङ, ताप्लि, उदयपुरगढी लगायतका पालिकाहरुमा फौजि किराको प्रकोप देखा पर्न थालेपछि किरा नियन्त्रण गर्नका लागी ज्ञान केन्द्रले विशेष तयारी गरिरहेको कृषी ज्ञान केन्द्र उदयपुरका प्रमुख नरनाथ रेग्मीले बताए । किराको प्रकोप फैलिएको ठाउँमा विषादी र आवश्यक उपकरणसहित विशेषज्ञको टोली पठाउने तयारी भईरहेको बताए । 
