Tuesday, June 9News That Matters

सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन मुख्यमन्त्रि राईको निर्देशन

पूर्णपुष्टि, चैत्र ११

१ नं प्रदेशका मुख्यमन्त्रिी शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिन प्रदेशसभा सदस्यहरुलाई निर्देशन गर्नुभएको छ । एमाले संसदिय दलका नेता समेत रहेका राईले एमालेका नेता तथा प्रदेश सभाका सदस्यहरुलाई तत्काल आफुहरुमाथि लागेको अविश्वासको प्रस्ताव फिर्ता गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री राईको अध्यक्षतामा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सदस्यहरूले सात दिनभित्र अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबल भइसकेको छ । सर्वोच्चको फैसलाले नेकपा पुरानै एमाले र माओवादी केन्द्रको हैसियतमा पुगेपछि नेपाल समूहका ५ जना प्रदेशसभा सदस्यले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रदेशसभा सदस्यहरूले प्रस्ताव फिर्ता लिन सहमति जनाइसकेको र उनीहरूलाई सात दिनभित्र लिखित रूपमा हस्ताक्षर फिर्ता लिई दललाई जानकारी गराउन निर्देशन दिइएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । उहाँले बैठकमा एमाले संसदीय दलको विधान प्रस्तुत गरेर सर्वसम्मत रूपमा पारित गरिएको पनि जाकारी गराउनुभयो । बैठकले संसदीय दलको १५ सदस्यीय बोर्डसमेत गठन गरेको बताउनुभयो ।

बोर्डमा दलका नेता तथा मुख्यमन्त्री राई, दलको उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहनेछन् । जसमाया गजमेर, आशारत्न जबेगु, यशोधा अधिकारी, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, लीलावल्लभ अधिकारी र नीलम बस्नेतलाई बोर्डको सदस्यमा चयन गरिएको राजभण्डारीले बताउनुभयो ।