
पूर्णपुष्टि, १४ असार ।
कोशी प्रदेश सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई बयानका लागि उपस्थित हुन उच्च अदालत विराटनगरले आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा बयानका लागि उपस्थित हुन् उच्च अदालत विराटनगर आदेश दिएको हो ।
उच्चका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि असार २० गते विहान ११ बजे अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार राजभण्डारीका नाममा कारण देखाउ आदेश जारी गर्दै आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश भएको छ ।
आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधीशमाथि घुस खाएको आरोप लगाएका थिए । उनी विरुद्ध मंगलबार उच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी २ वटा मुद्दा दर्ता भएको थियो । अदालतको अवहेलनामा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी अधिवक्ता उद्धवचन्द्र घिमिरेले दायर गरेको मुद्दामा छ ।
कोशी प्रदेश सरकारले जेठ ३ गते प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो । सरकारको निर्णय विरुद्ध उनी उच्च अदालत पुगेका थिए । जेठ ५ गते न्यायाधीश कृष्णकमल अधिकारीको एकल इजलासले उनलाई बर्खास्त नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
निवेदक घिमिरेकातर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्रप्रसाद भट्टराई, अधिवक्ता पेशलकुमार न्यौपाने, पुरुषोत्तम नेपाल, योगेन्द्र काफ्ले, बद्रीप्रसाद आचार्य, यज्ञप्रसाद शिवकोटी, मीनबहादुर पौडेल र विनोदकुमार तिमल्सिनाले बहस गरेका थिए ।
रजिष्टार थपलियाका तर्फबाट वरिष्ठ अधिवक्ता हेमराज पराजुली, डिल्लीबहादुर कार्की, हेमराज पन्त तथा अधिवक्ताहरु शिवप्रसाद आचार्य, देवेन्द्र कोइराला र विश्वराम भट्टराईले बहस गरेका थिए ।
