
पूर्णपुष्टि, असार २५
सरकारले सार्वजनिक यातायात संचारन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गरेर संचालन गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । ट्याक्सीमा बढीमा २ र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको उहाँले बताउनुभयो ।
छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउने उहाँले बताउनुभयो । जस बमोजिम काठमाडौं उपत्यकाको ३ जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने प्रष्ट्याउनुभएको छ । निर्णय बमोजिम उपत्यका बाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछन् ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न साप्ताहिक रुपमा हुँदै आएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालकले मापदण्ड पुरा गरी सञ्चालन गर्न केही दिन समय लाग्न सक्ने बताउनुभयो ।
सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सबारीसाधनमा ‘सेनिटाइजर’ र यात्रुले मास्क लगाउनु पर्ने तथा चालकले पञ्जा र मास्क लगाउनु पर्ने मापदण्ड तोकेको छ । त्यसैगरी, एक पंक्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ । सार्वजनिक सबारीले यात्रुबाट अतिरिक्त ५० प्रतिशत रुपियाँ लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो ।
