Wednesday, May 20News That Matters

साहित्यकार लेखक महासंघको अध्यक्षमा मुकारुङ

पूर्णपुष्टि, चैत ९

‘आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ’ को अध्यक्षमा लेखक राजन मुकारुङ चयन हुनु भएको छ ।

ललितपुरमा सम्पन्न महासंघको प्रथम राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिएका छन् ।

महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ रहेका छन् ।

महासंघको केन्द्रीय तदर्थ समितिले ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरेको थियो ।

नेपालका आदिवासी जनजातिको आन्दोलनमा हाबी भएको भ्रष्टीकरणविरुद्ध एक साथ लड्ने महासंघका अध्यक्ष मुकारुङले बताउनुभयो । आदिवासी जनजातिको सौन्दर्य साहित्यमा लेख्नेमात्र नभई सामाजिक र राजनीतिक रुपमा स्थापित गर्न महासंघ लागि पर्ने पनि बताउनुभयो ।

भोजपुरका मुकारुङ मदन पुरस्कार २०६९ का विजेतासमेत हुन् । भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ । जसमा आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरू समेटिएका छन् ।