Thursday, April 16News That Matters

सिंगापुर प्रहरीका पाँच नेपालीलाई हुण्डी कारोबारमा जेल सजाय

पूर्णपुष्टि, भाद्र २४ ।  सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्न भएको आरोपमा जेल सजाय सुनाइएको छ। द स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार, दोषी ठहर भएका व्यक्तिहरूमा दिकबहादुर गुरुङ, गंगाप्रसाद राई, अशोककुमार थापा मगर, मिङ्मार शर्पा र सीताराम तामाङ रहेका छन्।

उनीहरूमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलरसम्म अवैध रूपमा नेपाल पठाएको आरोप लागेको थियो। सबैभन्दा बढी सजाय दिकबहादुर गुरुङलाई भएको छ, जसलाई १४ हप्ताको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूलाई ४ देखि १० हप्तासम्मको जेल सजाय तोकिएको छ।

सिंगापुर प्रहरीले यी पाँच जनालाई अवैध कारोबारको आरोप लागेपछि फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो। जेल सजायपछि उनीहरूमाथि आन्तरिक कारबाही पनि सुरु हुने जनाइएको छ।

यस प्रकरणमा अर्का एक नेपाली, प्रतीक थापा, माथि पनि अनुसन्धान भइरहेको छ। उनी हाल फरार रहेका छन्। अभियोजकका अनुसार, प्रतीकले सन् २०२१ जुन तिर गोर्खा रेजिमेन्टका अधिकारीहरूका लागि अवैध रकम ट्रान्सफर सेवा क्याम्पबाटै सुरु गरेका थिए। सिंगापुर प्रहरीले मार्च २०२३ मा गोर्खा रेजिमेन्ट क्याम्पमा छापा मारेर यो अवैध कारोबारको अनुसन्धान थालेको थियो।