
पूर्णपुष्टि,माघ २०
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज दिउँसो लामोसाँघु जिरी सडकखण्डअर्न्तगतको सुनकोसी गाउँपालिकाक्षेत्र सडखण्डमा दोलखाबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको यात्रुबस पल्टँदा १९ जना घाइते भएको हो । घाईते हुनेमा १० जना पुरुष, ८ महिला र एक जना बालक रहेका छन् ।
तीव्र वेगमा आइरहेको यात्रुबस सडकको मोडपछि ठूलो आवाजसहित दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी घटनास्थल हेर्न पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखा र सिन्धुपाल्चोकको विभिन्न स्थानका १९ घाइते यात्रुलाई तत्कालै उपचारर्थ बलेफी गापा–७ खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचारको लागि लगिएको छ ।
१९ मध्ये एक बलेफी गापा वडा–६ का वर्ष ३७ सिताराम थापाको ढाडमा गहिरो चोट देखिएपछि खाडीचौरबाट काठमाडौंको अस्पताल रिफर गर्न लागिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको हात गोडामा सामान्य चोट लागेको छ । घाइतेहरुको संख्या धेरै भएकोले सिन्धु सदाबहार अस्पतालमा भुइँमै राखेर भएपनि उपचार थालिएको प्रहरीले जनाएको छ ।
