
पूर्णपुष्टि,चैत्र २९ । सिन्धुलीको सिन्धुलीगढीगेट नजिकै भारतीय नम्बरप्लेट भएको कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गएको रातिको करिव साढे १२ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक भएको दुर्घटनामा चार भारतीय नागरिकहरुको मृत्यु भएको हो । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार गए राति भएको दुर्घटना करिव राति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनका अनुसार दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको र कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेको सिलवालले जानकारी दिए ।
राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।
