
पूर्णपुष्टि, असोज २४ गते । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए ।
कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको डिएसपी दाहालले बताए । डिएसपी दाहालका अनुसार सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदैँ छ । जस अन्तरगत हिजो ४१ वटा सवारी साधन चेकजाँच तथा २०० जना मानिसहरुलाई सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो ।
