Monday, July 6News That Matters

सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ

पूर्णपुष्टि/उदयपुर, असार २२
सुनका गहना सफा गर्ने बहानामा स्थानीय महिलालाई ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक उदयपुरबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका–२ र ३ का स्थानीय महिलाहरू पेशलकुमारी मगर र मनमाया तामाङले कानमा लगाएको करिब १/१ तोला बराबरको सुनको बेरुवा रिङ विभिन्न केमिकल प्रयोग गरी सफा गरिदिने भन्दै सुनको मात्रा घटाई ठगी गरिएको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मिति २०८३ असार २२ गते प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोलीले ठगीमा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) निवासी अन्दाजी २८ वर्षीय गोबिन्द कुमार साह र बिहारकै मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत (कुमार थाना) निवासी अन्दाजी ३३ वर्षीय सचिन साहलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले अपरिचित व्यक्तिको प्रलोभनमा परी सुन वा अन्य बहुमूल्य सामान कसैलाई पनि नदिन तथा यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।