
पूर्णपुष्टि, चैत १५
म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ ।
नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको मृत्यु भएको जनाएका छन् ।
म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ ।
प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले नै गोली चलाएको जनाइएको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुको मृत्यु भईसकेका छन् ।
