Friday, September 11News That Matters

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरोले ड्याम, उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

पूर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ २६ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को KOबीचमा पर्ने हुङ्गा खोलामा ठूलो पहिरो खसेर नदी थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने भन्दै उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबार बिहान करिब ७ बजे हुङ्गा खोलामा ठूलो पहिरो खसेर नदी थुनिँदा करिब १०० मिटर लामो र १५ मिटर गहिरो ताल (ड्याम) बनेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ड्याम फुटेमा त्यसबाट निस्कने बाढी सोलुखुम्बुको सोताङ तथा थुलुङ दुधकोशी गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिने र सोही नदीमार्फत उदयपुर प्रवेश गर्ने जोखिम रहेको प्रहरीले जनाएको छ।
सम्भावित बाढीका कारण उदयपुरका कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका अन्तर्गत दुधकोशी तथा सुनकोशी नदी किनारका तटीय क्षेत्र र बस्तीमा पानीको सतह अचानक बढ्न सक्ने जोखिम रहेको छ।
प्रहरीले जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदीमा पानीको बहाव सामान्य देखिए पनि माछा मार्ने, पौडी खेल्ने, दाउरा तान्ने तथा अन्य प्रयोजनका लागि नदी किनारमा नजान अनुरोध गरिएको छ।
सम्भावित जोखिमबाट बच्न स्थानीय तह तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई निरन्तर रूपमा आधिकारिक सूचना लिइरहन पनि आग्रह गरिएको छ।
कुनै आपतकालीन अवस्था आएमा वा थप जानकारी आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय उदयपुरको सम्पर्क नम्बर १०० वा ९८५२८३५२७७ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।