
पूर्णपुष्टि, भदौ ९
सोलुखुम्बुमा खोला तर्ने क्रममा एक जना नगर प्रहरी बेपत्ता भएको छ । मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–२ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाईकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता भएको हो ।
सोही नगरपालिका–८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाईकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
खोलाबाट मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको कटवालको भनाई रहेको छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउनुभयो ।
