Sunday, May 17News That Matters

स्थानीय युवको हत्या अभियोगमा कार्यपालिका सदस्य पक्राउ, मेयर–उपमेरसहित ६ जना अझै फरार

पूर्णपुष्टि, साउन २८

स्थानीय एक युवको हत्या अभियोगमा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिकासदस्य श्याम राउत पक्राउ परेका छन् । हत्या अभियोगमा जिल्ला अदालतले मेयर–उपमेयर र वडाध्यक्षहरूसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा राउत लाई प्रहरीले केही दिन अगाडि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो ।

झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो ।

सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो ।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए । प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।