Sunday, May 17News That Matters

नवजात शिशुको हत्या अभियोगमा अदालतले जन्मकैद सजाय तोकेको फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पूर्णपुष्टि, साउन २८

नवजात शिशुको हत्या गरि फरार रहेका एक अभियुक्तलाई तनहुँ प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । तनहुँ आबुखैरेनी गाउँपालिका–१ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई शिशुको हत्या अभियोगमा पक्राउ गरेको हो ।

उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए । २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो । २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो । जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए ।

तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो । आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो ।

त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो । उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठह¥याएको थियो ।