
पूर्णपुष्टि, बैशाख १३ । डोटीमा जङ्गलभित्र स्याउला संकलन गर्न गएकी एक गर्भवती महिलाको भिरबाट लडी मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका–१ कि २१ वर्षीया अनिता मल्ल रहेकी छन् ।
मंगलबार बिहान घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा स्याउला संकलन गर्न गएकी उनी दिउँसो खाना खाने समयसम्म नफर्किएपछि खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको शव भिरबाट निकालिएको छ । मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।
