
पूर्णपुष्टि, कार्तिक १५
स्रोत नखुलेको साढे आठ लाख रुपैयाँसहित कैलालीबाट तीन जना पक्रांउ परेको छ । धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
