Thursday, June 11News That Matters

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित महिला पक्राउ

पूर्णपुष्टि,फागुन १७

सप्तरीमा स्रोत नखुलेको तीन लाख रुपैयाँ नगदसहित एक महिला पक्राउ परेको छ । छिन्नमस्ता गाउँपालिका–१ निवासी ५५ वर्षीया गीता देवी महतो स्रोत नखुलेको रकमसहित पक्राउ परेको हो ।

आज बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो ।

यसअघि ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।

छिन्नमस्ता गाउँपालिका–५ निवासी ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका थिए । उनीहरुको साथबाट स्रोत खुल्न नसकेको रु १० लाख फेला परेपछि दुवैजनालाई रकमसहित भन्सार कार्यालयमा बुझाइसकिएको छ ।

सप्तरीसँग सीमा जोडिएको कुनौली नाका हुँदै यसअघि पनि विभिन्न सामानको तस्करी हुँदै आएकोमा पछिल्लो पटक हुण्डी कारोबार हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।