Tuesday, April 21News That Matters

हडिया र बेल्टारलाई जोड्न त्रियुगा नदीमा डुङ्गा सञ्चालन

पूर्णपुष्टि, बैशाख २२ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको हडिया र बेल्टार बजार आवत-जावत गर्न त्रियुगा नदीमा मंगलबारदेखि डुङ्गा सेवा संचालन गरिएको छ । बर्षाको समयमा स्थानियलाई त्रियुगा नदी तर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले डुङ्गा सेवा संचालन गर्न ठेक्का लगाएसँगै डुङ्गा संचालन भएको हो ।

हडियाका समाजसेवी चन्द गिरीका अनुसार हिउँदमा नदीमा ह्युमपाइप राखेर हडिया–बेल्टार बजार बीचको यातायात सञ्चालन हुने गरे पनि बर्षाको बेला बाढीको कारणले आवतजावतमा कठिनाइ हुने गरेको थियो । हिउँदको अवधिमा दुबै तर्फका बासिन्दाहरू गाईघाट हुँदै घुमाउरो लामो यात्रा गर्न बाध्य हुने गरेको उनले बताए ।

वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतका अनुसार डुङ्गा सेवा नि:शुल्क गर्ने कुरा भएतापनि माझीलाई सेवा सुबिधा दिनुपर्ने भएकोले डुङ्गा चड्नकोलागि सामान्य शुल्क लिने निर्णय गरिएको हो । नदी तर्न सेवा शुल्क प्रति व्यक्ति ५० रुपैयाँ, खसी बाख्राको २० रुपैयाँ र चामलको बोरा ५ रुपैयाँ प्रति बोरा तोकिएको छ । नगरपालिकाले सुनसरीबाट १ लाख ७५ हजार रुपैयाँमा खरिद गरेर ल्याएको डुङ्गा माझीहरूले बार्षिक ४० हजार रुपैयाँ तिरेर ठेक्का लिएको वडाध्यक्ष राउतले बताए ।