पूर्णपुष्टि,माघ ५ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई हत्या अभियोग लागेका सांसद पनि प्रतिनिधि सभामा उपस्थित रहेको सुनिन आएको भन्दै ध्यानाकरण गराएको छ । बिहीबार सभामुखको निर्वाचनको कार्यक्रम सुरु हुनुअघि उनले सभाध्यक्षको ध्यानाकर्षण गराउँदै हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग गरेका हुन् । उनले त्यस्ता सांसदलाई पक्राउ गरी सदनलाई जानकारी गराउन पनि माग गरेका छन् । एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोमाथि हत्या अभियोग लागेको छ ।
महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो । गृहमन्त्री लामिछानेले पटक–पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।
