Friday, May 22News That Matters

हातहतियार र लागुऔषध कारोबार गर्ने नाइके पक्राउ

पूर्णपुष्टि, भदौ ७

हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । फरार प्रतिबादी भारतको बिहार बस्ने ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार यावलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ ।

यादवले २०७५ मङ्सिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ का मन्दीप तामाङलाई ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल र चार थान गोली सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ३५ वर्षीय सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए ।

मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका–१६ को विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाएको र ती हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुल्न आएको थियो ।

यसैगरी २०७५ मङ्सिर ८ गते उनले विराटनगर महानगरपालिका–१६ का २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई तीन सय ८० एम्पुल विभिन्न नियन्त्रित लागुऔषध, एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत विराटनगरको बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भइ ललितपुरको ललितपुर महानगरपालिका–४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिइ पठाएको प्रहरीले जनाएको छ ।

यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिका–११ को बसपार्कबाट पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा हातहतियार र लागुऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाइके समेत यादव रहेको खुल्न आएको थियो ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।