
पूर्णपुष्टि, फागुन १५ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज सप्ताहब्यापी हात्तीमैत्री पदयात्रा पुरा गर्दै हात्तीमैत्री कोशी प्रदेश बनाउने उद्घोष गरेका छन् । झापाको बाहुनडाँगीबाट सुरु भएको पदयात्रा आज उदयपुरको बेलसोतमा पुरा गर्दै समापन समारोहमा मुख्यमन्त्री कार्कीले यस्तो उद्घोष गरेका हुन् ।
त्यसका लागि देशमा यसको बासस्थानको संरक्षण, गुणस्तर सुधार गरी हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने भएको छ । हात्तीको पुर्खौली बाटोलाई हात्ती करिडोरको रुपमा विकास गर्ने भएको छ । हात्ती आतंक होइन, आम्दानी हो भन्ने हेतुले प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ ।
पर्यटन, वन, तथावातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा प्रदेशको अतिप्रभावित जिल्लाहरु झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरको हात्तीको पुखौली बाटोमा पदयात्रा गरिएको हो । मुख्यमन्त्री नेतृत्वको पदयात्रा टोलीमा मन्त्री, सांसद, हात्तीविज्ञ, सुरक्षा प्रमुख, स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।
पद यात्राबाट हात्तीको बारेमा थप र नयाँ जानकारी, स्थानीयको ज्ञान अनुभव संकलन भएको र त्यसलाई संकलन गर्दै प्रदेश सरकारले हात्तीमैत्री विशेष कार्यक्रम गर्ने भएको छ । हात्तीलाई मानवमैत्री जनावर भएपनि पाँच दशक यता जनसंख्या वृद्धि तथा मानवीय विकासका कारण हात्तिको जैविक मार्ग संकुचन र प्राकृतिक बासस्थान क्षयीकरण भएपछि धनजनको क्षती तथा बाली विनास गरेका घटना अनगिन्ती छन् । त्यसक्रममा हात्तीसमेत मरेका छन् । यसलाई रोक्न विशेष कार्यक्रम तयारी स्वरुप पदयात्रा भएको हो ।
