Tuesday, June 30News That Matters

होलीमा ट्राफिक प्रहरीको कडाइ, ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही

पूर्णपुष्टि,फागुन २२ । काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरीले होली पर्वलाई मध्यनजर गरी आज ट्राफिक जाँचमा कडाई गरिएको छ । सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको उपत्‍यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लघंन गरी तीव्र गतिमा सवारी हाक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । उनले इच्छाविपरीत कसैलाई रङ दल्ने,लोला हान्ने,होली मनाउने नाममा अभद्र व्यवहार गर्ने,लागुपदार्थ सेवन गरेर सवारी हाक्ने तथा ट्राफिक नियम उल्लघंन गरी लापरवाहीका साथ सवारी हाक्नेलाई कारबाही गरिने बताए ।

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको हो । काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।