Wednesday, May 20News That Matters

गाईघाट अव उदयपुरको शहर मात्र हैन : अध्यक्ष श्रेष्ठ

पूर्णपुष्टि,फागुन २२ । वातावरण कानुन समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठले गाईघाट अब उदयपुरको मात्र हैन सिङ्गो देशको शहर बन्दै गएको बताए । पूर्व भ्रमणको क्रममा गाईघाट आइपुगेका अध्यक्ष श्रेष्ठले पूर्णपुष्टिसंगको भेटमा उक्त कुरा बताएका हुन् ।

“काठमाडौंको मानिस गाईघाट हुदै पूर्व जाने र पूर्वकाहरु यहीबाट काठमाडौं लगायत विभिन्न ठाउँ जाने भएकोले अब, यो सामान्य शहर रहेन” श्रेष्ठले भने । विगत ०५२ सालदेखि उहाँको निरन्तर भ्रमण, अवलोकन गर्दै आएका उनले गाईघाटमा थुप्रैे परिवर्तन आइसक्दा पनि शहरी सभ्यताको विकास भने हुन नसकेकोले यसप्रति स्थानीय सरकार र नगरबासी सचेत हुनुपर्ने सुझाए ।

मुख्यगरी शहरको सरसफाई,सडक,बत्ती,बस्ती ब्यवस्थापन,हरियो बोट बृक्ष रोपणमा ध्यान पुर्याउनुपर्ने उनले बताए । शहर उज्यालो हुनुपर्ने,सफा,सुन्दर र हराभरा हुनुपर्ने उनको भनाई छ । त्यसतर्फ उन्मुख हुन सुझाव उनको छ । “गाईघाट आइपुगेका मानिस कम्तिमा एक घण्टा अल्मलिने वातावरण बन्नुपर्छ । खाना,खाजा खान,आराम गर्न,घुम्नडुल्न र रमाउने ठाउँ हुनुपर्छ ।” उनले भने । अध्यक्ष श्रेष्ठ कानुनमा विशेषगरी वातावरण क्षेत्रको वकालत गर्ने कानुन ब्यवसायी हुन् । उनले देशमा वातावरण र पशु अधिकारको क्षेत्रमा वहस, पैरवी गर्दै महत्वपूर्ण मुद्दा पार लगाएका छन् ।