Saturday, June 13News That Matters

१० र १२ कक्षाको परीक्षा लिन ३ विकल्प सिफारिस

पूर्णपुष्टि, जेष्ठ १७

दास्रो चरणको कोरोना भाइरसले स्थगित भएका कक्षा १० र १२ को परीक्षाा सञ्चालन गर्न शिक्षा मन्त्रालयले सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको हो ।

परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डले जनाएको छ । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ । यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ ।

कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चालन गर्न सकिने बोर्ड सदस्यहरूको जोड थियो । त्यसका लागि गत वर्षको कमीकमजोरीमा सुधार गर्नुपर्ने छ । गत वर्ष आन्तरिक मूल्यांकनमा शिक्षकले जथाभावी नम्बर दिँदा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा बढेको थियो ।

तेस्रो विकल्पमा संक्रमण अहिलेभन्दा अझै बढे र परिस्थिति झनै प्रतिकूल भए पूर्ण वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने सिफारिस गरिएको छ । उक्त सिफारिसलाई मन्त्रालयले आन्तरिक छलफलमा लैजाने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि परीक्षा विधि तय हुने बोर्डले जनाएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनसहित, अनलाइन, टेलिफोनलगायत विधिबाट लिखित÷मौखिक परीक्षा पनि लिन सकिने उल्लेख छ । ओपन बुक परीक्षा, विद्यार्थीको ३ वर्ष अघिदेखिको नतिजा विश्लेषणसहित कक्षा १० र १२ को मूल्यांकन गर्न सकिने सुझाव दिइएको हो ।